तरुण दलमा दुजाङ र नेवि संघमा विद्वान अध्यक्ष नियुक्त, शेखर काेइराला पक्ष असन्तुष्ट
नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष ताेकिएकाे छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण दलकाे अध्यक्षमा दुजाङ शेर्पालाई तथा नेपाल विद्यार्थी संघको अध्यक्षमा विद्वान गुरुङलाई मनाेनित गर्नुभएकाे छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार दुवै संगठनकाे अध्यक्ष ताेकिएकाे कांग्रेसले जनाएकाे छ ।
ताेकिएका अध्यक्षले संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन मत परिणाम आएको ३ महिनाभित्र अधिवेशन गर्नुपर्ने जिम्मेवारी दिइएकाे छ ।
सभापति देउवाकाे निर्णयमा डा. शेखर कोइराला पक्षले भने आपत्ति जनाएको छ । नेता शेखर पक्षको बैठकले मनोनित व्यक्तिप्रति आपत्ति नरहेपनि विना परामर्श चयन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।
यसअघि कार्यसम्पादन समितिले भातृ संस्थाको नेतृत्व चयन गर्दा सभापतिले परामर्श गर्ने निर्णय भएको साे पक्षकाे दाबी छ ।

