माओवादी केन्द्र गण्डकी प्रदेशमा निर्वाचनबाट पदाधिकारी चयन गरिंदै
विरलै मतदान मार्फत नेतृत्व चयन हुने नेकपा माओवादी केन्द्रमा पछिल्लाे समय नेतृत्व चयनका लागि निर्वाचन हुने गरेकाे छ । प्रायः सहमतिमा नै नेतृत्व चयन गर्ने परिपार्टी रहेकाे उक्त पार्टीमा जिल्ला तथा प्रदेश लगायतका कमिटीमा नेतृत्व चयनका लागि निर्वाचन हुने गरेकाे हाे ।
प्रदेश अध्यक्ष सहमतिमा चयन गरेपनि अन्य पदाधिकारी चयन हुन नसकेकाे गण्डकी प्रदेशमा चार महिनापछि पदाधिकारी चयनका लागि निर्वाचन भएको हाे ।
२१४ मतदाता मध्ये १७७ जना मतदानमा सहभागी भएकाे प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयाे ।
मंगलबारदेखि पोखरामा सुरु भएको पहिलो पूर्ण बैठकले पदाधिकारीमा सर्वसम्मत निर्णय गर्न नसकेपछि बुधबार मतदान भएको हो ।
मंसिर २७ गते भएको माओवादीको प्रदेश अधिवेशनले गायत्री गुरुङको अध्यक्षमा सर्वसम्मत २ सय १ सदस्यीय प्रदेश कमिटी गठन गरेको थियो ।
आठ पदाधिकारीका लागि १८ जनाको उम्मेदवारी परेको प्रदेश सदस्य लाेकप्रसाद बन्जाराले जानकारी दिनुभयाे । निर्वाचनबाट ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्ष चयन हुनेछन् ।
मतदान सकिएकाे मतगणना शुरू हुन लागेकाे बन्जाराले जानकारी दिनुभयाे ।

