निहारिका राजपुतकाे माग पुरा गर्न ३ बुँदे सहमति
महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहकाे माग पुरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले ३ बुँदे सहमति गरेकाे छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग ३ बुँदे सहमतिपछि राजपुतकाे १७ दिनदेखिकाे अनशन समेत ताेड्न सहमति जुटेकाे हाे ।
राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि राजपुतकाे प्रहरी नियन्त्रणमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेपनि अनशन बसेका कारण सरकारले पटक पटक सहमतिकाे प्रयास गरेकाे थियाे ।
सहमतिपत्रमा राजपुतको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र माग पूरा भएकोले राजपुतले आइतबारबाटै अनशन अन्त्य गर्ने उल्लेख छ ।
निहारिकाले आफूमाथि २०७६ कात्तिक ६ गते बेलुका धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित शिवराज श्रेष्ठले कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोप लगाउँदै मुद्दा समेत दर्ता गरेपनि जिल्ला अदालतले भने सफाइ दिएकाे थियाे ।
अहिले उक्त मुद्दा उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

