तीजका अवसरमा राष्ट्रपतिकाे शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै यस पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन सहयाेग गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले जारी गर्नुभएकाे सन्देशमा तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँन मद्दत गर्ने विश्वास व्यक्त गरिएकाे छ ।

यस्ता पर्वहरूले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने सन्देशमा उल्लेख छ । नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको तथा तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने पनि सन्देशमा उल्लेख छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तीजका अवसरमा शुमकामना सन्देश जारी गर्दै सरकार नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्धनका लागि प्रतिबद्ध रहेको बताउनुभएकाे छ ।

उहाँले शान्ति, विकास र सुशासनप्रतिको जनचाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर लागिपरेकाे समेत उल्लेख गर्नुभएकाे छ । प्रधानमन्त्रीले सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएकाे छ ।

खासगरी नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउने गर्दछन् ।

Facebook Comments