बडादशैंः फूलपाती भित्राइँदै
नेपाली हिन्दुहरूले मनाउने महत्वपूर्ण पर्व बडा दशैंको सातौं दिन शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन घरघरमा शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने चलन रहेकाे छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।
फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको पूजा आराधना गरिन्छ ।
फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ।
यसैवीच काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याउने गरिन्छ ।
हनुमानढोकामा यस वर्षको फूलपाती आइतबार अपराह्न भित्राइने कार्यक्रम रहेको छ । फूलपाती लिन शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर पुगेकाे छ ।
आइतबार बिहान जीवनपुरबाट स्वयम्भू हुँदै राजधानीबाट गएको समूहले फूलपाती ल्याउने जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्राइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
दशैंका अवसरमा सरकारी तथा नीजि कार्यालयहरूमा सार्वजनिक विदा सुरू भएकाे छ । फुलपाती, महाअष्टमी, महानवमी र विजयादशमी यस पर्वका विशेष महत्वका दिन हुन् । यस वर्षकाे दशैंको टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहे पनि दिनभर नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

