गाईको पूजाआजा गाईतिहार मनाइँदै
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईतिहार मनाइँदैछ ।
यमपञ्चककाे कात्तिक शुक्ल प्रतिपदाकाे दिन गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गाई तिहार मनाउने गरिन्छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व हुने अनुसन्धानले समेत पुष्टी गरेकाे छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास समेत रहेकाे छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेकाे छ ।
धर्मशास्त्रविद् का अनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेकाे छ ।
तिहारकाे तिथि घटबढ भएका कारण यसपटक पाँचाै दिनमा सकिने तिहार ६ दिन परेकाे छ भने १० गते विहीबार तिहारकाे महत्वपूर्ण दिन भाइ तिहार परेकाे छ ।

