असाेज ९ देखि ११ गतेसम्म अति धेरै वर्षा हुन सक्ने
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरेकाे असाेज ९ देखि ११ गतेसम्म अति धेरै वर्षा हुन सक्ने जनाएकाे छ ।
यसपटककाे मनसुन सम्बन्धी तेस्राे बुलेटिन जारी गरेकाे महाशाखाले आगामी असोज ९ गते शुक्रबार देखि असोज ११ गते आइतबार सम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेकाे जनाएकाे हाे ।
महाशाखाले मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन एवं चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी बर्षाको समेत सम्भावना रहेकाे पनि बुलेटिनमा उल्लेख गरेकाे छ ।
साे अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ । महाशाखाका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र (Low Pressure area) हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपासमा रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै Deep Depression (बलियो न्युन चापीय क्षेत्र) भई पश्चिम-उत्तरपश्चिम दिशातिर सर्दै जाँदा त्यसको प्रभावले बुधबारबाट नै कोशी, बागमती र गण्डकी प्रदेशमा बर्षाको गतिबिधि बढ्ने संभावना छ ।
महाशाखाले देशका हिमाली तथा पहाडी क्षेत्रका १५ जिल्लामा रेड अर्लट उच्च जाेखिम रहेकाे पनि जनाएकाे छ।
महाशाखाले सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।


