सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता हुने

सन्दीप लामिछानेविरूद्ध नाबालिगमाथि बलात्कार गरेको अभियाेगमा मुद्दा दर्ता हुँदैछ ।

तिहार एवं छठ पर्वका कारण एक हप्ता सार्वजनिक विदा भएकाले आज साेमबार मात्रै मुद्दा दर्ता गर्न लागिएकाे सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहारकाे विदा सुरू भएकाले लामिछानेकाे मुद्दा दर्ता हुन नसकेको वकिलकाे कार्यालयले जनाएकाे छ ।

प्रहरीकाे अनुसन्धानपछि सरकारी वकिलकाे कार्यालयले लामिछाने विरूद्ध १२ वर्ष सम्मकाे कैद सजाय र क्षतिपुर्ति दिनुपर्ने लगायतका माग दावी सहित मुद्दा दर्ता गर्ने तयारी गरेकाे छ ।

मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकको उपदफा ३ को (घ) अनुसार उक्त सजाय माग गरिएकाे हाे ।

उक्त उफदफामा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।

घटना लगत्तै विदेशमा व्यवसायिक क्रिकेट खेलमा भाग लिइरहेकै बेला काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते लामिछानेविरूद्ध जाहेरी परेको थियो।

त्यसपछि लामिछाने विरूद्ध प्रहरीले अनुसन्धान थालेकाे थियाे । प्रहरीले काठमाडौंको उक्त होटलको सिसिटिभी फुटेज, नाबालिगकाे स्वास्थ्य परीक्षण, नाबालिग महिला र लामिछानेवीच विभिन्न माध्यमबाट भएका कुराकानी लगायतका प्रमाण अनुसन्धान प्रतिवेदनमा प्रमाणका रूपमा समावेश गरेकाे छ।

Facebook Comments