पहिलेका प्रतिस्पर्धी, अहिलेका सारथी
महाभारत युद्धमा अर्जुनको रथ कृष्णले हाँकेजस्तै दीपक कोइरालालाई जिताउन कांग्रेस सहमहामन्त्री जीवन परियारले यतिबेला सारथीको भूमिकामा उत्रनुपरेकाे छ ।
राजनीतिमा बिरलै देखिने दृश्य हो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु । यसपल्ट कास्की निर्वाचन क्षेत्र १(१) मा यस्तै भएको छ । कांग्रेस सहमहामन्त्री जीवन परियार ०७४ को चुनावमा जोसँग पराजित भए अहिले उनै उम्मेदवार दीपक काेइरालालाई जिताउन लागिपर्नुभएकाे छे ।
कांग्रेस नेता परियार र माओवादी केन्द्रका नेता दीपक कोइरालावीच अघिल्लो प्रदेशसभाको चुनावमा प्रतिस्पर्धा थियाे । त्यतिबेला काेइराला विजयी हुनुभएकाे थियाे ।
यसपटक संसद विघटन पछि बनेकाे पाँच दलीय गठबन्धनका कारण परियारले विगतका प्रर्तिस्पर्धी कोइरालाकाे पक्षमा मत माग्नुपरेकाे हाे ।
स्थानीय चुनावमा सहकार्य गरेका दलले संघ र प्रदेशको चुनावमा पनि गठबन्धनलाई कायम राखेका छन् । पहिले जितेका निर्वाचन क्षेत्रमा त्यही दलको उम्मेदवार हुने गठबन्धनभित्रको सहमतिसँगै कास्की १(१) माओवादी केन्द्रले पायो । रुपा गाउँपालिका र पोखरा महानगरका वडा २६, २७, २९, ३०, ३१ र ३२ यो क्षेत्रमा पर्छन् ।
पाँच वर्षमा त्यस क्षेत्रका स्थानीयको मन जितेका कोइरालालाई माओवादी केन्द्रले पुनः उम्मेदवार बनायो । प्रदेशसभामा अर्थ तथा विकास समितिको सभापति भएर लोकप्रिय काम गरेका युवा नेता भएकाले पनि कांग्रेससँगै एमाले कार्यकर्ताले पनि मत दिने माओवादीको आकलन छ ।
कांग्रेस सहमहामन्त्री परियार स्वयं प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा छन् । परियार संघीय सांसद बन्ने निश्चितप्राय छ । अब उनको ध्यान आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनको उम्मेदवारलाई जिताउनुमा छ । उनी यतिबेला कास्की १ (१) मा उम्मेदवार कोइरालालाई जिताउन स्थानीयसँग भेटघाटमा व्यस्त रहनुभएकाे छ ।
परियारले केपी शर्मा ओलीले संसद विघटन गरिसकेपछि विशेष परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको बताउने गर्नुभएकाे छ ।
‘हामी हिजो झगडा गरेका आदर्श नमिलेका दलहरु पनि एउटै पार्टी भएर एक ठाउँमा बस्नु चानचुने कुरा होइन । कुनै बेला माओवादी र कांग्रेस मिलेर सँगै हिँड्छन् भनेर कसैले पनि कल्पना गरेको थिएनन्,’ परियार भन्नुहुन्छ, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, समृद्धि र विकास निर्माणका लागि गठबन्धन आवश्यक प¥यो ।

