भोजपुर बम विष्फोटः एमालेले विप्लवका कार्यकर्ता प्रयोग गरी बम विष्फोट गरायो– किराँती

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा भोजपुरबाट गठबन्धनका उम्मेदवार सुदन किरातीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाउनुभएकाे छ।

भोजपुरको तिवारी भन्ज्याङमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम राखिएको स्थानमा बम विस्फोट भएपछि किरातीले यस्तो बताउनुभएकाे हाे ।

‘हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका छौं। कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो। विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो,’ किरातीले भन्नुभयाे, ‘चुनावमा हार्ने भएपछि एमालेले जहिल्यै यस्तै यस्तै घटना घटाउँछ। त्यस्ता क्रियाकलापको घोर भत्र्सना गर्दछु।’

गठबन्धनबाट उम्मेदवार रहेका किरातीसँग एमालेका शेरधन राई चुनावी मैदानमा रहनुभएकाे छ । प्रहरीका अनुसार दिउँसो २ः१० बजेको समयमा सपिङ ब्यागमा मोबाइलजस्तो देखिने शंकास्पद वस्तु विष्फोट भएको थियो।

विष्फोटबाट उक्त झोला बोकेका अरुण गाउँपालिका वडा नं. ४ चरम्बी बस्ने अन्दाजी ३५ वर्षका सुमन श्रेष्ठलाई खुट्टामा सामान्य चोट लागेको र उनलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

Facebook Comments