इप्पानद्वारा जलविद्युत आयोजनामा भएकाे ताेडफाेडप्रति भर्त्सना

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले शनिबार गाेरखा र लमजुङकाे सिमाना सिरान्चाेकमा निर्माणाधीन चेपे ए जलविद्युत आयोजना (७ मेगावाट) मा भएको तोडफोड र आगजनीको भर्त्सना गरेको छ ।

आइतबार इप्पानले एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको उल्लेख गर्दै घटनामा संलग्नहरूमाथि कडा कार्वाहीकाे माग गरेकाे छ ।

इप्पानले परियोजनाहरुको कार्यस्थलमा छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गर्न र शान्ति सुरक्षाको पूर्ण प्रत्याभुती गराउन सरकारसँग माग गरेको छ । 

घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने व्यवस्था मिलाउन ईप्पानकाे माग छ ।

इप्पानले उच्छृङ्खल तथा अराजक घटनाको इप्पान घोर भर्त्सना र निन्दा गर्दै हरेक आयोजनाहरु र त्यसका सरोकारवाला पक्षहरुबिचको कुनै पनि असमझदारी आपसी संवादबाटै समाधान गर्न सकिने जनाएकाे छ ।

जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय अवाञ्छित घटनाहरुको सामना गरिरहनुपरेको भन्दै इप्पानले एक पक्षीय ढंगले आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पुर्याउने तथा प्रबर्द्धक एवम् कामदार तथा कर्मचारीहरुलाई मानसिक र भौतिकरुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्य देखिने गरेकेा पनि इप्पानले उल्लेख गरेकाे छ ।

त्यस खालका उच्श्रृङ्खल, अराजक र उद्दण्ड गतिबिधिले अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याइरहेकाे ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रवाह भइरहेकाे तर्फ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छाै, इप्पानकाे विज्ञप्तीमा उल्लेख छ ।

राइनास नहरसँग सम्बन्धित बिषयमा केही व्यक्तिकाे याेजनामा आयाेजनाकाे डिजाइन भन्दा फरक रूपमा व्याख्या गरी भ्रम सिर्जना गरेर घटना घटाइएकाे चम्पादेवी हाइड्रोपावर लिमिटेडले जनाएकाे छ ।

Facebook Comments