रवि लामिछाने सांसद पदका लागि अयाेग्यः सर्वोच्च अदालत
सर्वाेच्च अदालतले गृहमन्त्री रवि लामिछानेको मन्त्री एवं सांसद पदका लागि अयाेग्य भएकाे ठहर गरेकाे छ ।
सर्वोच्च अदालतले नागरिकता पुर्नप्राप्तिका लागि कानुनले तोकेको पक्रिया पुरा नगरेको भन्दै निज सांसद पदमा रहन नमिल्ने फैसला सुनाएकाे हाे ।
सर्वोच्चको लामिछाने विरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाई गरेपछि शुक्रबार यस्तो फैसला सुनाएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको हाे ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासमा लामिछाने विरुद्ध परेको मुद्दाको सुनुवाइ भएकाे थियाे ।
गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा लामिछानेसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका थिए ।

