जरोटुप्पोमा सम जयन्ती र सम्मान

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो ।

कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० हजार एकसय राशिसहितको इन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो ।

भण्डारीलाई कोषका संस्थापक सीता जिसी, वरिष्ठ साहित्यकार सरुभक्त, हरिदेवी कोइराला र सूर्य खड्का बिखर्चीले संयुक्त सम्मान अर्पण गरेका थिए ।

सरुभक्तले सर्जकको सिर्जनशीलता संख्यामा नभएर गुणात्मकताले स्तर निर्धारण गर्ने बताउनुभयाे । सरुभक्तले नेपाली साहित्यका विराट प्रतिभा बालकृष्ण समको योगदानको जुन रुपमा चर्चा हुनुपर्ने थियो त्यो नभइरहेको धारणा राख्दै जरोटुप्पोले विगतका केही वर्षदेखि सम जयन्ती मनाउन शुरु गरेकोमा यसलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभयाे ।

हरिदेवी कोइरालाले जरोटुप्पोले नेपाली माटो र मौलिकतालाई बोकेर अगाडि बढिरहेको देख्दा आफूलाई निकै खुसी लागेको बताउनुभयाे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले आफूँ स्रष्टा साधकको उचित सम्मान र संरक्षणका लागि राज्यसँग सक्दो पहल गरिरहेको बताउनुभयाे ।

सम्मानित स्रष्टा के.सी.ले आफूलाई सम्मानले थप उत्साह र जिम्मेवारी थपिदिएको बताउँदै संस्थाप्रति आभार व्यक्त गर्दै सम्मानलाई उचित सम्मानपूर्वक राख्न आफूँले प्रयास गर्ने बताउनुभयाे ।

कोषका संस्थापक सविन जिसीले आफ्ना हजुरबुबाआमाका नाममा यसरी सामाजिक कार्य गर्न पाउँदा उहाँले हिजो समाजमा पुर्‍याएको योगदानको स्मरण हुने बताउनुभयाे ।

प्रतिभा छनौट समितिका संयोजक प्राज्ञ कृष्णप्रसाद पौडेलले प्रतिभा छनौट प्रक्रिया र स्रष्टाको परिचय राखेका थिए । कार्यक्रममा प्रा.डा. यमबहादुर पौडेल क्षत्रीको स्वागत र असफल गौतमको सञ्चालन रहेको थियो ।

Facebook Comments