बेपत्ता छानबिन र सत्यनिरुपण सम्बन्धि विधेयक पेश हुँदै

प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुँदैछ ।

संसद सचिवालयले सम्भावित कार्यसूचीमा विधेयक पेश हुने बारे उल्लेख गरेको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने कार्यसूची समावेश छ ।

शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन-२०७१ लाई संशोधन गर्न बनेको विधेयक आइतबारको संसद बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

नेकपा एमालेले विधेयक समितिमा लगेर छलफल गर्नुपर्ने जनाएकाे छ भने सरकारले फास्ट ट्रयाकमा विधेयक पारित गर्न चाहेकाे छ ।

शान्ति प्रक्रियासँग सम्बन्धित यी विधेयकलाई अघिल्लो संसदमै टेबल गरिएको थियो । आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पनि पेस गर्ने सम्भावित कार्यसूची पनि छ ।

Facebook Comments