प्रतिनिधिसभामा र्ता भएका तीन विधेयक पारित गर्नेबारे सभामुख सहित शीर्ष नेताकाे छलफल
संसद्मा दर्ता भएका तीन विधेयक पारित गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच समझदारी खोज्नेबारे सभामुख सहित शीर्ष नेताहरूवीच छलफल भएको छ ।
सभामुख देवराज घिमिरेको पहलमा शनिबार सिंहदरबारमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवावीच छलफल भएकाे हाे ।
छलफलपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले संसद् संचालनबारे गम्भीर छलफल भएको बताउनुभयाे ।
‘यी विधेयक छिटो टुंग्याउन जरुरी छ, राष्ट्रका लागि । सहमति जुटाउने भन्ने कुरामा सैद्धान्तिक रूपमा सबै सहमत छौं,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘२८ गते बिहान ९ बजे फेरि बसेर टुंगो लगाउने कुरा भएको छ । विधेयकहरूलाई सरकारमा हुनेहरूको कुरा फास्ट ट्र्याकबाट पारित गर्नुपर्छ भनेका छौं । प्रतिपक्षले समितिमा लैजानुपर्ने भनेको छ । बीचको बाटो खोज्ने भन्ने पनि छ ।’
त्यस्तै प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सदनका कामकार्वाही प्रभावकारी बनाउने बारे छलफल भएकाे बताउनुभयाे । उहाँले सदनमा पेश भएका संक्रमणकालीन न्यायबारेकाे बिधेयक फाष्ट ट्याकमा पास गर्न प्रस्ताव अाएकाे बताउनुभयाे । एमालेले भने विधेयक समितिमा पठाउनुपर्ने पक्षमा छ ।
संसद्मा हाल सरकारको प्राथमिकतामा रहेका विधेयक तीनवटा छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेय, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई सरकारले चालु अधिवेशनबाटै पारित गर्न खोजेको छ ।

