आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो।
सुरूमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउने गरिएकाे थियाे ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भएपछि नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिन भदाै २९ मा पर्ने भएकाले साेही सन्दर्भ पारेर २०६३ सालदेखि भदौ २९ गते बाल दिवस मनाउन थालिएकाे हाे ।
नेपालकाे संविधानमा बालबालिकाको हकलाई मौलिक हकका रूपमा स्वीकार गरिउकाे छ । जसमा बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समावेश छ ।
राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकाको हक, अधिकार संरक्षणका लागि पैरवी गर्दै आएको छ । परिषद्ले बालबालिकासम्बन्धी नीतिगत तथा कानुनी पैरवी, सडक बालबालिकामुक्त राष्ट्र घोषणा, बालविवाह तथा बालश्रम अन्त्य, अनाथ तथा अपाङ्गता भएका बालबालिका संरक्षण, उपचार, यौनहिंसा तथा यौन दुव्र्यवहारमा परेका बालबालिकाको उद्धार र संरक्षण, ओसारपसारमा परेका बालबालिकाको उद्धार र संरक्षण तथा कानुनी उपचार, वैकल्पिक सेवाको प्रवर्द्धन, बालगृह सञ्चालनकाे अनुमति दिने तथा अनुगमन लगायतका कार्य गर्दै आएको छ।

