बेइजिङमा सकियो नेपाली सांसदहरुको १० दिने कार्यशाला
नेपालका संघीय संसद्का सदस्यहरुका लागि आयोजना गरिएको १० दिने कार्यशाला बिहीबार बेइजिङमा समापन भएको छ । चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसदका १७ सदस्य र संघीय संसद सचिवालयका तीन कर्मचारी सहभागी थिए ।
समापनका अवसरमा भएको कार्यक्रममा एआईबीओका उपप्रमुख छेन रुइचुनले नेपालका कानून निर्माताहरुका लागि आयोजना गरिएको कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गर्नुभयाे । ‘हामीले सुरुवातमात्र गरेका छौं,’ उनको भनाइ थियो, ‘अनुभव आदान प्रदानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’
सयौंपटक सुन्नुभन्दा एकपटक हेर्नु राम्रो भन्ने चिनियाँ भनाइ उद्धृत गर्दै उनले विकास निर्माणमा चीनले प्राप्त गरेको सफलता अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्ने बताउनुभयाे ।
नेपाली प्रतिनिधि मण्डलका सदस्य एवं नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले राष्ट्रपति सी जिनफिङको नेतृत्वमा प्राप्त गरेको सफलताले चीन विश्वकै लागि अवलोकनस्थल भएको उल्लेख गर्नुभयाे । उहाँले विगतमा भएका सहमतिको कार्यान्वयनमा जोड दिँदै नेपाल बीआरआईको हिस्सेदार हुन पाएकोमा खुसी व्यक्त गर्नुभयाे ।
समापन कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारी, नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका सांसद अनिशा नेपाली, नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरी, जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारी तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सम्बोधन गर्नुभएकाे थियाे ।
उनीहरुले दुई मुलुकबीच मौलिक विशेषतायुक्त सम्बन्ध रहेको चर्चा गर्दै कुटनीतिक, व्यापारिक सम्बन्ध, विकास सहयोग तथा अनुभव आदान प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
पुस २ गते बेइजिङ आएको नेपाली संसदीय टोलीले चीनको च्याङ्सु र कुइयाङ प्रान्तको भ्रमण गरेको थियो । उनीहरुले दुवै प्रान्तका प्रान्तीय राष्ट्रिय जनकंग्रेसका उच्च अधिकारीसँग भेट गरेका संघीय संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयाे ।

