जापानकी विदेशमन्त्री आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री खामिखावा योको आज नेपाल आइपुग्ने कार्यसूची छ । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लाग्नुभएकाे हाे । जापान नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकहरुमध्ये एक हो ।

नेपालमा भेटघाटपछि मन्त्री याेकाे आजै जापान फर्किने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयकाअनुसार काठमाडौंमा रहँदा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुहुनेछ ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने जनाइएको छ । जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो । त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउले मन्त्रीस्तरीय भ्रमण गर्नुभएकाे थियाे ।

Facebook Comments