कांग्रेसमा महामन्त्री थापाकाे प्रस्ताव पारित, शर्माकाे एक्जिट पाेलिसी भने पास भएन
कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको छ भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको नेताहरूको बहिर्गमन नीति (एक्जिट पोलिसी) भने पछि छलफल गर्ने भन्दै पास नगरी बैठक सकिएकाे छ ।
महामन्त्री शर्माले अघि सार्नुभएकाे नेताहरूको बहिर्गमन नीति (एक्जिट पोलिसी) संविधान संशोधनकै बेलामा छलफल अघि बढाउने गरी हाललाई कुनै निर्णय नगरिएको हाे ।
साउन २३ देखि चलेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन र इतरपक्षबीच मुख्य गरी यी दुई विषयमा मतभेद देखिएको थियो ।
गत फागुन १० मा सम्पन्न महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम टुंगो लगाउने गरी उपसभापति पूर्णबहादुर खड्काको नीति, थापाको संगठन र शर्माको समसामयिक राजनीतिक प्रतिवेदन पारित भएको थियो ।
चुनावी गठबन्धनको विपक्षीमा रहेका थापाको प्रस्तावबाट ‘गठबन्धन’ शब्द हटाएर संशोधन सहित पारित गरिएको हाे । प्रस्तावमा कांग्रेस एक्लैले बहुमत ल्याउने गरी निर्वाचनकाे तयारीमा लाग्नुपर्ने उल्लेख छ ।

