नेपाल पत्रकार महासंघ कास्कीमा पत्रकार महिलाका लागि पुरस्कार स्थापना
नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार महिलाका निम्ति पुरस्कार स्थापना गरेको छ ।
पोखराका वरिष्ठ उद्योगपति, समाजसेवी एवं पूर्व मन्त्री हरि पाण्डेले उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएकाे हाे ।
महासंघ कास्की शाखाले संचालन गर्ने गरी मातृसेवा प्रतिष्ठान नेपालले ‘डा. शान्ति स्मृति महिला पत्रकारिता पुरस्कार’ कास्कीमा क्रियाशील पत्रकार महिलालाई वितरण गरिनेछ ।
यसबारे पत्रकार महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । पुरस्कार स्थापनबारे छिट्टै एक कार्यक्रम गरी घोषणा गरिने जनाइएको छ ।
हरि पाण्डे र उनकी धर्मपत्नी तुलसा पाण्डेकी साहिली सुपुत्री डा. शान्तिको २०६१ सालमा पोखरामा स्कुटर दुर्घटनामा मृत्यु भएको थियो । पाण्डे दम्पतीको आफ्नी छोरीको स्मृतिमा प्राविधिक विषयमा उच्च शिक्षा पढ्न महिलाका लागि विभिन्न छात्रवृत्ति समेत वितरण गर्दै आएको छ ।
हाल ५ लाख बराबरको अक्षयकोष स्थापना गरी हरेक वर्ष २५ हजार ५ सय ५५ रुपैयाँ राशिको पुरस्कार वितरण गरिने महासंघ कास्कीले जनाएको छ । कास्की जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकार महासंघको सदस्य प्राप्त गरेको कम्तीमा १० वर्ष वा पत्रकारिता पेसामा १२ वर्षसम्म क्रियाशील पत्रकार महिलाले यो पुरस्कार प्राप्त गर्ने छन् ।
जसमा पत्रकारिता माध्यमबाट महिला सशक्तीकरण र स्वास्थ्य क्षेत्रमा योगदान गरेको व्यक्तिलाई योग्य ठानिने प्रारम्भिक कार्यविधि छ । उक्त पुरस्कार महासंघ स्थापना दिवस १६ चैत वा शान्ति पाण्डेको स्मृति दिवसमा एक समारोह आयोजना गरी वितरण गरिनेछ ।
महासंघ कास्कीले वितरण गर्ने जगन्नाथ सिग्देल युवा पत्रकारिका पुरस्कारको अक्षयकोष राशिमा ५ लाख रकम थप गर्ने निर्णय भएको छ । यसअघि ५ लाख रुपैयाँ रहेकोमा बढेर १० लाख पुगेको छ ।

