बिद्युत महशुल विवादः २८ वटा उद्योगमा बिजुली जोडिने

बिद्युत महशुल विवादमा लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोडिने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मंगलबार बिजुली जोड्ने निर्णय गरेको हाे ।

मन्त्रिपरिषद् र प्राधिकरण सञ्चालक समितिकाे बैठक बमाेजिम लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्न प्राधिकरणले क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएकाे थियाे । साेही निर्देशन बमाेजिम बुधबारसम्म अधिकांश कार्यालयहरूमा विजुली जडान भइसकेकाे छ ।

प्राधिकरणले यही कात्तिक ८ मा डेडिकेटेड र ट्रंक लाइनबापत बिजुली खपत गरी तिर्नुपर्ने महशुल नतिरेको भन्दै २८ उद्योगमा बिजुली काटेको थियो ।

किस्ताबन्दी सुविधा लिएर पहिलो किस्ता तिरेका १२ उद्योगमा भने प्राधिकरणले तिहारअघि नै बिजुली जडान गरिदिएकाे थियाे ।

गत आइतबार मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने, १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । 

Facebook Comments