गणतन्त्र ठूलै उपलब्धि हाे, तर तर क्रान्ति अधुरो रह्योः विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा गणतन्त्र स्थापना महत्वपूर्ण राजनीतिक परिवर्तन भएपनि क्रान्ति भने अधुरै रहेकाे बताउनुभएकाे छ ।
शनिबार पार्टीको ११ औं ऐतिहासिक पार्टी पुर्नगठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले मजदुर, किसान, नेपालका जनजाति, विद्यार्थीहरुको पक्षमा जति नै लडे पनि जनताले चाहेको जस्तो जीवन नपाएको भन्दै क्रान्ति अधुरो भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘हामी लडेर आएका हौं ।सबैलाई थहा छ । हामी कम्युनिष्टहरु, सच्चा लोकतन्त्रवादीहरु र देशभक्तहरु हौ । हामीसँग देशलाई माया गर्ने मान्छेहरु थिए, दिदीबहिनीको लागि बलिदान दिने, मजदुर किसान, जनजाती, विद्यार्थीहरुको पक्षमा लड्ने हामी नै हो । लडेर इतिहास निर्माण गरेका हौं । ०६४ सालपछि नयाँ जीवन चलाइरहेका छौं । तर ०६४ पछि नेपालमा सम्झौता भयो, केही परिवर्तन भयो तर नेपाली जनताले चाहेको जस्तो जीवन पाएन क्रान्ति अधुरो भयो ।’
नेपाली जनताको बलिदानबाट कल्पना गरिएजस्ताे व्यवस्था र जनताको राज्य स्थापना हुन नसकेकाे नेता विप्लवकाे तर्क छ । उहाँले समाजवाद स्थापना नभएसम्म युवाहरूले स्वदेशमै राेजगारी, जनताकाे गरिबी अन्त्य नभएसम्म क्रान्ति पुरा नहुने बताउनुभयाे ।

