दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोग प्रस्ताव पारित
दक्षिण कोरियाली संसद्ले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

मतदानका क्रममा ८४ सांसदले महाभियोगको विपक्षमा मतदान गरे भने ८ मत बदर भयो, ३ सांसद तटस्थ बसे । महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदबाट स्वतः निलम्बित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएकाे छ ।
युनकाे प्रस्ताव अब संवैधानिक अदालतमा जानेछ । काेरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्तावमा ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिने कानुनी ब्यवस्था छ ।
राष्ट्रपति पद रिक्त भएको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ । त्यतिन्जेलसम्म प्रधानमन्त्री हान डक सुले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्ने ब्यवस्था छ ।
महाभियोग प्रस्ताव पारित भएपछि पनि युनले सबै आलोचना, प्रोत्साहन र समर्थन स्वीकार गर्दै अन्त्यसम्म पनि राष्ट्रका लागि काम गर्ने सक्दो प्रयास गर्ने बताएकाे सिएनएनले समाचारमा उल्लेख गरेकाे छ ।

