सञ्चार क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्छः सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभएकाे छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीको नवनिर्वाचित कार्यसमिति, प्रदेश तथा राष्ट्रिय परिषद् सदस्यहरु आज शपथ तथा पदस्थापन कार्यक्रममा उहाँले देशमा स्थिरता र सुशासन स्थापनाका लागि सञ्चार जगत्ले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयाे ।

सञ्चारमन्त्री गुरुङले भन्नुभयाे, “वर्तमान सरकार बनेको भोलिपल्टदेखिनै अस्थिरताको कुरा भइरहेको छ । सरकार ढल्छ भनेर लेखिरहेका छन्, सञ्चार क्षेत्रबाट प्रचार भइरहेको छ । यसबाट सुशासन कायम गर्ने कुरामा समस्या हुन्छ । सञ्चार क्षेत्र व्यवस्थित नभए सरकारलाई सुशासन कायम गराउन समस्या हुन्छ ।”

अनलाइनको मिडियाको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक मन्त्रिपरिषद्बाट पारित भएको र अबको सदनमा प्रस्तुत हुने उहाँले साे अवसरमा जानकारी दिनुभयाे

डिजिटल प्लेटफर्म सञ्चालन गर्नेहरु मर्यादित बन्न आवश्यक रहेकाे उहाँकाे भनाइ छ । “संस्कार र संस्कृतिमाथि हमला गर्नुहुँदैन । समाजलाई अमर्यादित बनाउने काम अनलाइन सञ्चार माध्यमबाट गर्नुहुँदैन । अनलाइन मिडियाको स्थापना, सञ्चालन र प्रयोगकाका लागि नियमन गर्नु आवश्यक छ भनेर सञ्चार मन्त्रालय लागिपरेको छ”, सञ्चारमन्त्री गुरुङले भन्रुभयाे ।

कार्यक्रममा मङ्सिर २८ गते सम्पन्न पत्रकार महासङ्घको निर्वाचनमा कास्की शाखामा निर्वाचित अध्यक्ष माधव बराल नेतृत्वको कार्यसमिति तथा प्रदेश परिषद् र राष्ट्रिय परिषद् सदस्यमा निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गरिएकाे थियाे । 
कार्यक्रममा निर्वाचन समितिका संयोजक पुण्य पौडेल, सदस्यहरु रवीन्द्र बाँस्तोला, गोविन्द पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, माओवादी केन्द्रका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, अध्यक्षका प्रत्याशी राजेन्द्र अधिकारीलगायतले पत्रकारिता क्षेत्रका विभिन्न विषयमा भनाइ राखेका थिए। 
Facebook Comments