कजाकिस्तानमा दुर्घटनाग्रस्त विमानमा सवार ३८ यात्रुकाे मृत्यु, ११ जना गम्भीर घाइते
एजेन्सी । अजरबैजान एयरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा हावाहुरीका कारण चिप्लिएर दुर्घटनामा परेको जनाइएको छ ।
साे विमान दुर्घटनामा ३८ जनाकाे मृत्यु भएकाे र २९ जनाकाे घाइते अवस्थामा उद्दार भएकाे बिबिसीले जनाएकाे छ । घाइतेमध्ये ११ जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।
बुधबार हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
बाकुबाट ग्रोज्नीका लागि उडेको यात्रुबाहक विमान बुधबार अक्ताउ शहरनजिकै दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ ।
बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन्।
विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्यसहित ६७ जना सवार रहेको अजरबैजान एयरलाइन्सले सामाजिक सञ्जाल एक्समा जनाएको छ । उद्धार कार्य जारी राखिएको छ ।
विमान अक्ताउबाट करिब तीन किलोमिटर टाढा ‘आपतकालीन अवतरण’ गर्ने क्रममा दुर्घटना भएकाे बताइएको छ।

