आज पौषमा पकाएर माघमा खाने पर्व माघे सङ्क्रान्ति, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
काठमाडौं । आज देशभर भर थारू समुदायका साथै अन्य समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिने गरेको पाईन्छ । माघे सङ्क्रान्तिमा पुस मसान्तमै पकाएर राखी भोलिपल्ट माघको पहिलो दिनमा खाने चलन रहेको छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकारका साथै माटोमुनि फलेका तरुल, सखरखण्ड, इस्कुसको जरा, पिँडालुसँगै खिचडी आदि खाने चलन नेपाली समाजमा रहेको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने माघ महिनामा यस्ता परिकार खाने गरिएको हो । यी खाद्य परिकारले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न मद्दत गर्नुका साथै शरीरमा शक्ति प्रदान गर्छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने जनविश्वास रहेको छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनहरुको घुइँचो लाग्नसाथै विशेष मेलासमेत लाग्ने गर्दछ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। उनीहरुले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ ।
साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा पहिचान निर्माण गरौंसः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट र मौलिक पहिचान भएका पर्वहरू मनाउँदै साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा मुलुकलाई विश्व सामु चिनाउन सकिने बताउनुभएकाे छ ।
मंगलबार माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
राष्ट्रपतिकाे सन्देशमा भनिएको छ, ‘यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्वहरू मनाउँदै साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा हाम्रो मुलुकलाई विश्व सामु परिचित गराउन महत्त्वूर्ण भूमिका रहनेछ भन्ने मलाई लाग्दछ।बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु ।’
माघे संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेको र थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँदछन् भने तराईवासीले नहान अर्थात नुहाउने पर्वको रूपमा मनाउँने गरेको उहाँको भनाई छ ।
उहाँले आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको भन्दै घ्यू, चाकु, तरुल, तीलको लड्डु, सेलरोटी तथा खिचडी आदि परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन पनि रहेको सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

