राइड सेयरिङ विवादः गण्डकीमा सार्वजनिक यातायात ठप्प

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिन कानुन ल्याएकाे विराेधमा गण्डकी प्रदेशमा यातायात व्यवसायीले सार्वजनिक यातायात ठप्प बनाएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरिसकेकाे छ भने कानुनी प्रक्रिया अगाडि बढाएकाे छ ।

यसअगाडि नियमावलीको विरोधमा सभा गर्दै जेठ १६ गतेदेखि यातायात ठप्प बनाउने चेतावनी व्यवसायीले दिएका थियाे ।

गण्डकी प्रदेशमा सार्वजनिक सवारीका साधन चलेकाे छैन भने १९ गतेदेखि देशव्यापी रूपमा यातायात ठप्प बनाउने व्यवसायीकाे चेतावनी छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको नेतृत्व गरकेाे छ ।

राइड सेयरिङलाई मान्यता दिने निर्णय फिर्ता लिनुपर्ने अडान व्यवसायीकाे छ । प्रदेश सरकारकाे यस्ताे नियम कानुनले सार्वजनिक यातायात सेवा अस्तव्यस्त हुने र व्यवसायीकाे लगानीकाे प्रतिफल प्राप्त गर्न नसक्ने उनीहरूकाे तर्क छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले निजी नम्बर प्लेटको सवारी साधनलाई सार्वजनिकसरह सेवा दिने गरी आएको कानुनको विरूद्धमा आन्दोलन गरेकाे बताउनुभयाे ।

गण्डकी प्रदेश सरकारले गत महिना ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमाली मन्त्रिपरिषदबाट पारित गर्दै राजपत्रमा प्रकाशित गरेको थियो ।

Facebook Comments