जेनजी आन्दाेलनपछि दलहरू जुट्दै
गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनपछि राजनीतिक दलहरूमा धुव्रीकरण तीव्र भएकाे छ । विभिन्न कम्युनिष्ट पार्टीहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भएकाे केही हप्ता वितेकाे छ ।

आइतबार मात्रै प्रगतिशील लाेकतान्त्रिक पार्टी गठन भएकाे छ । जसमा नयाँ वैकल्पिक शक्तिकाे वकालत गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), पूर्व माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी पूर्व प्रमुख सचेतक सन्तोष परियारबीच एकता गरी यो पार्टी गठन गरिएको हाे ।
आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो । पार्टीको चुनाव चिह्वन आँखा प्रस्ताव गरिएको छ ।
प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त रहेको पार्टीले समावेशी नेतृत्व र सामूहिक भावनाका साथ अघि बढ्ने उद्देश्य राखेको उल्लेख गरेको छ ।
त्यस्तै गरी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालले एकल चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने सहमति गरेका छन् ।
आइतबार अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच जाँतो(चकिया) लिएर निर्वाचन लड्ने सहमति भएको हो ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका केही नेताहरू भने नेपाली कम्युनिष्ट पार्टीमा जाने भएका छन् ।
साे पार्टी नै नेपाली कम्युनिष्ट पार्टीमा जाने भनिए पनि जसपा संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहित नेताहरू नेकपामा लागेका हुन् ।
चोइटिएर नेकपातिर लाग्नुअघि सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू कन्दङ्वा, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष कृष्णबहादुर घजुले पार्टी छाडेको पत्र हस्ताक्षरसहित छाडेका छन् ।


