एमालेकाे आसन्न महाधिवेशनः ओलीलाई पोखरेलको चुनाैति
महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सुरू भइरहँदा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरी सर्वसम्मत् हुने आशमा रहनुभएका अध्यक्ष केपी शर्मा ओलीलाई चुनाैति दिनुहुने भएकाे छ ।

लामो वक्तव्य तथा भिडियाे सन्देश जारी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार बन्ने घोषणा गर्नुभएकाे हाे ।
११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको भन्दै पोखरेलले ओलीलाई अभिभावक बन्न सुझाव दिनुभएकाे छ ।
त्यस्तै पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको वक्तव्यमा पाेखरेलले उल्लेख गर्नुभएकाे छ ।
पोखरेलले आफ्नो दशकाैं लामाे पृष्ठभूमि र योगदान उल्लेख गर्दै सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको, जेलनेल एवं यातना सहेको उल्लेख गर्दै आफू अध्यक्षका लागि याेग्य र सक्षम रहेकाे बताउनुभएकाे छ ।
साथै बदलिदाे परिस्थितलाई वर्तमान नेतृत्वले आत्मसाथ गर्न नसकेकाे जिकीर गर्नुभएकाे छ ।

