प्रतिनिधिसभा निर्वाचन २०८२ः समानुपातिकतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन आज
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्नुपर्ने छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बुझाएपछि पुस १५ देखि २० गतेसम्म साे सूचीबारे छानबिन हुनेछ ।
आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई आवश्यक संशाेधनका लागि समय दिनेछ ।
पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाशन गरिनेछ । माघ २० गते उम्मेदवारकाे अन्तिम सूची प्रकाशन गरिनेछ ।
आयाेगमा सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।
आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन् ।
समानुपातिकमा सबै जातजाति, क्षेत्र लिङ्ग समेतकाे प्रतिनिधित्व सुनिश्चित हुने गरी सूची बुझाउनुपर्ने हुन्छ ।

