प्रतिनिधसभा निर्वाचनः आज देशैभर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरिने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फकाे उम्मेदवारी दर्ता गर्ने कार्यतालिका अनुसार आज देशभर उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि कार्यतालिका तय गरेकाे हाे ।

निर्वाचनमा सहभागी हुने दल तथा स्वतन्त्र उम्मेदवारी दिन चाहनेले आयोगले ताेकेका कागजात सहित उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ ।

उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि र अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकाे निस्सा सहित उपस्थित भएर उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।

आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी पुरा भएकाे जनाउँदै ताेकिएकाे समयमा मर्यादित रूपमा यस कार्यमा सरिक हुन सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ । प्रमुख राजनीतिक दलहरूले अधिकांस स्थानमा उम्मेदवारी टुंगाे लगाएका छन् । नेपाली कांग्रेसले भने पार्टीभित्रकाे आन्तरिक विवादका कारण केही स्थानमा उम्मेदवार टुंगाे लगाउन बाँकी रहेकाे छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा गत २०८२ भदौ २३ र २४ को आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

Facebook Comments