सहिद दिवसमा बालेनकाे सन्देशः राज्य जनताको बन्न सकेन

शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्यका लागि झापा ५ का उम्मेदवार बालेन्द्र शाह बालेनले राज्य कहिल्यै पनि जनताकाे बन्न नसकेकाे बताउनुभएकाे छ । सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले राणा शासनकाे अन्य भएपछि पनि नेपाली जनताले संघर्ष गरिरहनुपरेकाे र राज्य जनताकाे हुन नसकेकाे बताउनुभएकाे हाे ।

बालेनले जारी गर्नुभएकाे सन्देश

राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालिन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ ।

त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन ।

यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो ।

८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।

पटक-पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो ।

अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं ।

लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।

राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ ।

यी शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन ।

अब समय आएको छ- शहीदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने ।

सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।

यसपटकको शहीद दिवस सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको स्मरण गर्दै वहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो ।

फेरी कसैले शहीद बन्नु नपरोस्!

सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली,सम्मान ।

Facebook Comments