फेवाताल मापदण्डभित्रका संरचना हटाउन डाेजर चलाइयाे
पोखराको फेवाताल किनारमा रहेका ६५ मिटर मापदण्डभित्र रहेका अस्थायी संरचना हटाउन थालिएकाे छ ।
मापदण्ड विपरीतका अस्थायी संरचनामा डोजर लगाइएको हाे । गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।
पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू लगायतका संरचना भत्काइएका छन् । बिहान साढे चार बजेदेखि नै प्रहरी परिचालन गरेर अस्थायी संरचना भत्काउन थालिएको थियाे ।
बिहानैदेखि झण्डै ३० वटा संरचनामा डोजर लगाइएकाे हाे । स्थानीयले अवराेध गर्न खाेजेपनि संरचना भत्काइएकाे प्रहरीले जनाएकाे छ।
पछिल्लो समय सर्वोच्चको आदेशपछि प्रदेश सरकारसँगको समन्वयमा ताल किनारमा पोल गाड्ने काम सकिएको छ । अहिले ६५ मिटरको सीमाना छुट्याउने काम चलिरहेको छ । बुधबार पोखरा महानगरले हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाएको थियो । केही जग्गाकाे भने मुआब्जा दिनुपर्ने खालका रहेका छन् ।

