रवि लामिछानेकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक राख्नुभएकाे छ ।

रास्वपाका सभापति लामिछानेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले सोमबार बिहान ९ बजेका लागि यो बैठक आह्वान गर्नुभएकाे हाे ।

उक्त सर्वदलीय छलफल सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता र अन्य महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच संवाद हुने बताइएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयाेजक पुष्पकमल दाहाल(प्रचण्ड) भने सहभागी नहुने स्राेतले बताएकाे छ ।

कांग्रेस र नेकपाका तर्फबाट अन्य नेताहरूले पार्टीकाे धारणा राख्ने तय भएकाे बताइएकाे छ ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ ।

संसद्मा रहेका दलहरू एकै ठाउँमा बसेर संवाद गर्दा संविधान संशाेधन, सीमा समस्या, विद्यमान राजनीतिक गतिरोध अन्त्य र राष्ट्रिय मुद्दामा समान धारणा बनाउन मद्दत पुग्ने विश्वास गरिएकाे छ।

Facebook Comments