माैसमः मधेस बाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ।

महाशाखाले मधेस बाहेक अन्य प्रदेशका केही स्थानहरूमा भारी वर्षाकाे संभावना रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थान साथै कोशी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसाे देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । त्यसै गरी देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

महाशाखाले बुधबार राती देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने देशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Facebook Comments