बाढी पहिराेका कारण ६ जिल्लाका मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी अवरुद्ध
बाढी, पहिरो र सडक मर्मतका कारण देशका ६ जिल्लामा पर्ने मुख्य राजमार्गका विभिन्न स्थानमा सडक खण्डहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार बागमती प्रदेशका काभ्रे, रसुवा, नुवाकाेट, धादिङ र चितवनमा पर्ने मुख्य राजमार्गका सडक खण्डमा यातायात सेवा प्रभावित छ भने कर्णाली प्रदेशकाे हुम्लामा पनि यातायात सेवा प्रभावित भएकाे छ ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी र नुवाकोटको टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा रातिकाे समयमा सवारी साधनहरू सञ्चालनमा राेक लगाइनेछ ।
रसुवाका मुख्य सबै राजमार्गहरू भदौ १० गते बिहान १०:३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । रसुवामा अत्यावश्यक बाहेक सवारी चल्ने सडकहरूमा पनि रातकाे समयमा भने सन्चालन हुन दिइएकाे छैन ।
नुवाकोटकै पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका-१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ। धादिङको पृथ्वीलोकमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-०७ कृष्ण भिरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प छ। उक्त स्थानमा अत्यावश्यक सवारी साधन भने सन्चालनमा रहेकाे प्रहरीले जनाएकाे छ । विहीबारदेखि भने पृथ्वी राजमार्गमा सवारी सन्चालन गर्ने लक्ष राखिएकाे छ ।
कर्णाली प्रदेशतर्फ हुम्लाको कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।


