माैसमः तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको उल्लेख छ।

बुलेटिनमा हाल मौसमको अवस्था सम्बन्धमा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लागेको उल्लेख छ । त्यस्तै लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको तथा सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाले गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको जनाएकाे छ ।

विहीबार दिउँसाे तथा रातकाे समयमा देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।

देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे तथा कोशी प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती प्रदेशको तराई र  गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने बुलेटिनमा उल्लेख छ ।  

रातकाे समयमा कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका केही स्थानमा र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै मधेश प्रदेश  तथा कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

Facebook Comments