जनवायु अनुकुलनमा भूमिका खेलेका छाैं, तर विपत्तिकाे मार खेप्नुपरेकाे छः प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले स्थानीय तहमा जलवायु अनुकूलनलाई बलियो बनाइरहेकाे बताउनुभएकाे छ । उहाँले वनजंगल संरक्षण, कृषि, जलविद्युत लगायतका भूमिकाले जलवायु अनुकुलनमा बलियाे बनाउने उल्लेख गर्दै जलवायु परिवर्तनकाे बढ्दो तीव्रता र आवृत्तिका कारण जलवायुजन्य विपत्तिकाे मार खेप्नुपरेकाे उल्लेख गर्नुभएकाे छ ।
संयुक्त राष्ट्रसंघकाे ८१औं महासभालाई सम्बोधन गर्दै प्रधानमनत्री शाहले तर विश्वव्यापी शासन प्रणालीको असफलताले जलवायुजन्य विपत्ति बडिरहेकाे तर्क गर्नुभयाे ।
साथै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले निम्त्याउने समस्यासँग जुध्न नेपाल, भारत र चीनवीच त्रिदेशीय संयन्त्रको प्रस्ताव गर्नुभएकाे छ । तीन देशकाे अगुवाइमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव शाहले अगाडि सार्नुभएकाे हाे ।
‘हिन्दुकुश हिमालय क्षेत्रमा करिब दुई अर्ब मानिस बसोबास गर्छन् । यी हिमालले नेपालभन्दा धेरै टाढासम्मका मानिसलाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन उपलब्ध गराउँछन् । हिमालय पृथ्वीको बाहिरी भागमा रहेको क्षेत्र होइन। यो पृथ्वीको जीवन धान्ने प्रणालीको एउटा हिस्सा हो,’ प्रधानमन्त्री शाहले भन्नुभयाे । उक्त संयन्त्रमार्फत भूउपग्रहबाट प्राप्त तथ्यांक र विशेषज्ञता आपसमा साझा गरिनुपर्ने पनि प्रधानमन्त्रीको प्रस्ताव थियाे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको बताउनुभयाे। हिमनदी पग्लिनु, पहाडी ढलान अस्थिर हुनु र नदीको प्रवाह अनिश्चित बन्नुले विकासका उपलब्धि नै जोखिममा परेको उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले विश्वव्यापी आर्थिक तथा आपूर्ति प्रणालीप्रति पनि प्रश्न उठाउँदै नेपालमा किसानका लागि मल, सडक निर्माणका लागि बिटुमिन र परिवारका लागि खाना पकाउने इन्धन समयमै उपलब्ध हुन नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयाे ।
प्रधानमन्त्री शाहले युद्धका सामग्री विश्वभर छिटो पुग्ने तर किसानका आवश्यक सामग्री सहज रूपमा नपुग्ने अवस्थालाई असन्तुलित विश्वव्यवस्थाको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएकाे हाे ।
प्रधानमन्त्री शाहले सम्बाेधन अन्त्य गर्ने क्रममा नेपालीमा सम्बाेधन गर्दै भगवान पशुपतिनाथले विश्वकाे कल्याण गरून, विश्व भगवान गाैतम बुद्ध देखाएकाे बाटाेमा हिड्न सकाेस् भन्दै विश्व शान्तिका लागि कामना गर्नुभएकाे थियाे ।


