खेलाडी उत्पादनमा पोखरा महानगरको जोड, प्रतियोगिता र प्रशिक्षण प्राथमिकता

पोखरा महानगरपालिका खेलकुद विकास समितिले यस वर्ष तल्लाे तह (ग्रासरुट तह)बाट खेलाडी उत्पादन गर्ने कार्यलाई प्राथमिकतामा राखेर खेलकुदका गतिविधि सञ्चालन गर्ने भएको छ ।

समितिले आर्थिक वर्ष २०८३र०८४ का लागि तय गरिएका कार्यक्रमलाई कार्यतालिका बनाएर मंसिरदेखि कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बिहीबार पोखरा रङ्गशालामा बसेको समितिको बैठकले ग्रासरुट खेलकुदको विकास, प्रतियोगिता सञ्चालन तथा प्रशिक्षणलाई प्राथमिकतामा राख्दै निर्धारित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको सदस्य सचिव सुरज अधिकारीले जानकारी दिनुभयाे ।

बैठकमा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यले खेलकुदका गतिविधिलाई समुदायस्तरसम्म विस्तार गर्न सके खेलप्रति सकारात्मक भावना विकास हुने बताउनुभयाे । खेलकुदले व्यक्तिलाई स्वस्थ बनाउनुका साथै सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने उहाँको भनाइ थियो ।

महाशाखा प्रमुख आचार्यले समितिका गतिविधि शिक्षा महाशाखाअन्तर्गत पर्ने भएकाले तिनलाई प्राथमिकताका साथ प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले कार्ययोजना तयार गरी मंसिरदेखि नै कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै अनुशासनमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयाे ।

महानगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद तिवारीले खेलकुदका कार्यक्रम सञ्चालन गर्दा नियम, अनुशासन र सहकार्यलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयाे । सबै पक्ष मिलेर सकारात्मक सोचका साथ अघि बढे निर्धारित लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ थियो ।

Facebook Comments