युक्रेनमा रुसी बम आक्रमण, ३३ जनाको मृत्यु, ५० जना बेपत्ता

दक्षिणपूर्वी युक्रेनको जापोरिजिया क्षेत्रमा रहेको एक विद्यालय भवनमा रुसले कम्तीमा नौवटा बम खसालेपछि ३३ जनाको मृत्यु भएको छ भने ५० जना अझै बेपत्ता रहेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उक्त घटनाबारे जानकारी दिँदै यसलाई युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताउनुभएकाे छ ।

स्थानीय गभर्नर मिखाइलो सेमिकिनका अनुसार कोमिशुभाखा क्षेत्रमा रहेको उक्त भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए। भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिँदै आएको थियो ।

सेमिकिनका अनुसार युरोपेली संघ (ईयू) को आर्थिक सहयोगमा गत वर्ष निर्माण गरिएको भवनको भूमिगत भागलाई सुरक्षित आश्रयस्थलका रूपमा तयार पारिएको थियो। अधिकांश आक्रमणको प्रभाव थेग्न सक्ने गरी मजबुत बनाइएको उक्त संरचना शक्तिशाली बम विस्फोटका कारण भत्किएको र त्यसपछि आगलागीसमेत भएको बताइएकाे छ।

युद्धका क्रममा पनि विद्यार्थीको पठनपाठन जारी राख्ने उद्देश्यले उक्त आश्रयस्थल निर्माण गरिएको थियो। तर, गाउँनजिकै युद्ध चर्किंदै गएपछि सर्वसाधारणको आवतजावत घटेको थियो। हाल उक्त भवन विद्यालयका रूपमा प्रयोग नभई स्थानीय प्रशासनिक केन्द्र तथा मानवीय सहायता वितरण केन्द्रका रूपमा सञ्चालन हुँदै आएको थियो।

आक्रमणपछि उद्धार तथा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।

Facebook Comments