पोखरा महोत्सवमा शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण पदक विजेता महर्जनलाई सम्मान

शारीरिक सुगठन तथा फिजिक स्र्पोटस च्याम्पियनशिपका स्वर्ण पदक बिजेता महेश्वर महर्जनलाई पोखरा महोत्सवमा सम्मान गरिएको छ । हालै थाइल्याण्डमा सम्पन्न १० औ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियन सीपमा स्वर्ण पदक बिजेता महर्जनलाई १० हजार नगदसहित सम्मान गरिएको हो ।

महर्जनले शारीरिक सुगठन खेल मार्फत विश्व सामु चिनाउन सफल भएको भन्दै क्लवले सम्मान गरेको युनाइटेड क्लवका खेलकुद ब्यवस्थापन उपसमिती संयोजक विष्णु कुमार गुरुङले जानकारी दिनुभयो । क्लवले आगामी दिनमा युनिभर्सल शारीरिक सुगठन प्रतियोगितामा भाग लिन जांदा समेत महर्जनलाई सहयोग गर्ने भएको छ ।

सो अवसरमा वोल्दै सम्मानित ब्याक्ति महर्जनले आफु सरकारको सहयोग नरहे पनि विभिन्न संघ संस्थाको सहयोगले उत्साहित बनेको उल्लेख गर्नुभयो । शारीरिक सुगठन प्रतियोगिताबाटै नेपाली भुमिलाई विश्वसामु चिनाउनुे उहाँको भनाई छ ।

महोत्सवको नवौ दिन एवं अन्तिम शनिवार महोत्सवमा दर्शकको बाक्लो उपस्थिती रहनुका साथै कारोवारमा समेत उल्लेख्य मात्रामा बृद्धि भइरहेको महोत्सवका प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिनुभयो ।

महोत्सवमा राखिएको चिडियाखानाको स्याण्ड मोडेल, सर्प संरक्षण सम्बन्धी जानकारी दिने स्टल र होम स्टेको स्टलले समेत दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको युनाइटेड क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिनुभयो ।

स्थापना कालदेखि पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणको पहलकदमी गर्दै आएको क्लवले व्यवस्थापन गरेका कारण महोत्सव स्थलबाट पोखराको पचभैयामा निर्माणाधिन खुल्ला चिडियाखाना पोखरा जुलोजिकल पार्क अवलोकन गर्न जानेको समेत भीड लागेको छ ।

महोत्सवमा लोक दोहोरी, तरेली सांस्कृतीक परिवारको नृत्य र ज्यामिरे आमा बावु समुह स्याङजाको सती घाटु र झोरा नृत्य प्रस्तुत गरिएको थियो । सांझ भिटेनको प्रस्तुतीमा युवा युवतीहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी शनिवार गण्डकी प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगितामा गण्डकी प्रदेश र पर्वत बीचको प्रतिस्पर्धामा गण्डकी प्रदेश पर्वतलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

महोत्सवमा आइतबार कुलेन्द्र बिश्वकर्मा, तारापति सुवेदी, जीवन दाहाल, शिवहरी ढुंगाना, शरला पाण्डे, कृष्ण अखेली, अमर धिताल, लक्ष्मी बानिया, सन्तोष सुवेदी लगायतको प्रस्तुती रहने छ भने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय इन्फ्लेम र तृष्णा गुरुङको प्रस्तुती रहनेछ ।

त्यस्तै हास्य ब्यङ्ग्य तर्फ पोखरेली धुर्मुस र माग्नेबुढाको प्रस्तुती रहने छ भने सांस्कृतीक कार्यक्रम तर्फ तरेली सांस्कृतीक परिवार र धर्मोदय दश अवतार वालन समुह रामपुर पाल्पाको प्रस्तुती रहने महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो । आइतबार गण्डकी प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगितामा गण्डकी प्रदेश र कास्कीवीच प्रतिष्पर्धा रहने छ ।

Facebook Comments