पोखरा कप फुटबल प्रतियोगिता शुरु हुँदै, २ विदेशी सहित १२ टिम सहभागी हुने
पोखरामा आज मंगलबारबाट छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ शुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लव र हिमालयन शेर्पा क्लव प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिता २ विदेशी सहित १२ टिम सहभागी हुँदैछन् । प्रतियोगितामा जापान र क्यामरुनका दुई विदेशी सहित १२ टिम सहभागि हुने भएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालका उत्कृष्ट ९ क्लव मनाङ मस्याङदी क्लव, संकटा क्लव, थ्रि स्टार क्लव, नेपाल आर्मी, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ, हिमालयन सेर्पा, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेकाछन्। त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिर्भ्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागी हुँदैछन् ।

छैटौं सस्करणमा पुरस्कार राशीलाई पाँचौ सस्करणको भन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, उत्कृष्ट पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।
१२ दिने प्रतियोगिताको लागि १ करोड १७ लाख रुपैयाँ खर्च र १ करोड २८ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ । संघले फुटबल खेलमा योगदान गर्ने एकजनालाई सम्मान स्वरुप मोटरसाईकल प्रदान गर्ने निर्णय समेत गरेको छ । प्रतियोगिताका लागि पोखरा रंगशालामा रहेको फुटबल मैदानमा बार्ने कामका साथै अस्थायी प्यारापिट निर्माण र मैदान मर्मत सम्भार गरिएको छ ।

