चिकित्सकहरू रिले अनसनमा, अस्पतालमा धर्ना नबस्न शिक्षण अस्पतालको आग्रह

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज बाट रिले अनसन थालेका छन् । चिकित्सा शिक्षा सुधार लगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघले रिले सोमबारदेखि अनसन सुरू गरेको हो । अनसन बसेपनि अस्पतालको सेवा सञ्चालन प्रभावित हुन नदिने संघले जनाएको छ ।

आलोपालो बसेर सेवा प्रभावित हुन नदिने संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिनुभयो । अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । शिक्षण अस्पतालमा रिले अनशन शुरु भएसंगै उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिएका थिए ।

यसैवीच त्रि.बि. शिक्षण अस्पतालले अस्पताल परिषसमा धर्ना नबस्न चिकित्सकहरुलाई आग्रह गरेको छ । डा. गोविन्द केसीको अनशनप्रति समर्थन जनाउँदै चिकित्सकहरुले धर्ना सुरु गरेपछि शिक्षण अस्पतालले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो । अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रमा धर्ना नबस्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

‘अस्पताल परिषरमा हुने धर्ना, अनशन, प्रदर्शन जस्ता कार्यले सर्वसाधारणलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न असर पर्नेमा ध्यानाकर्षण गराउँदै शिक्षण अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा धर्ना अनशन जस्ता विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहन्छौँ’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अस्पतालले अनशन छोडेर उपचारमा फर्कन चिकित्सकहरुलाई आग्रह गरेको छ । उक्त विज्ञप्ति प्रधानमन्त्री गृहमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री लगायतलाई पनि वोधार्थ पठाइएको छ ।

Facebook Comments