क्यान इन्फोटेकको पूर्व सन्ध्यामा दृष्टिबिहीनहरुलाई कम्प्युटर तालिम

दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा तालिम आयोजना गरिएको हो ।

फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो । कम्प्युटर शिक्षा तालिमको मंगलबार एक कार्यक्रमका बीच ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गर्नुभएको हो । उक्त अवसरमा बोल्दै उहाँले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा दृष्टिबिहीनहरुका लागि आयोजित कम्प्युटर शिक्षा तालिममा सहकार्य गरेको बताउनुभयो ।

क्यानका गण्डकी प्रदेश अध्यक्ष चिन्तामणि बास्तोलाले हरेक वर्ष क्यानले रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले औपचारिक शिक्षासँगै कम्प्युटरको ज्ञान अनिवार्य भएको उल्लेख गर्नुभयो ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकको तयारीलाई तिब्र बनाइएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो । क्यान कास्कीका सदस्य शवी शेरचनको संयोजकत्वमा तालिम आयोजना गरिएको हो । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव विकास भुर्तेलले जानकारी दिनुभयो ।

Facebook Comments