कृष्णभीरमा विहीबारबाट सवारी सन्चालन गरिने

त्रिशूली नदीमा मिति २०८३ साल भाद्र १० र १४ गते आएको बाढीका कारण सडक कटान भएपछि अवरूद्ध भएकाे पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा ट्रयाक खाेल्ने कार्य सम्पन्न भएकाे छ । ट्रयाक खाेलेपछि साे सडक सडक खण्डमा भाद्र २८ गते केही समयका लागि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

विशेषगरी काठमाडौँतर्फबाट फर्किएर बाटोमा रोकिएका खालि ग्याँस बुलेट, ठूला सवारीसाधन तथा अन्य अत्यावश्यक सवारीसाधनलाई उक्त खण्डबाट पास गराई सडक सञ्चालनको सफल परीक्षण गरिएको हाे।

सडक विभाग, योजना कार्यालय, परामर्शदाता, निर्माण व्यवसायी, नेपाल जियोटेक्निकल सोसाइटी तथा विशेषगरी हेभी इकुपमेन्टका अपरेटरहरूको अथक मेहनत र निरन्तर प्रयासपछि उक्त सडक खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउन सम्भव भएको नागढुंगा मुग्लिङ सडक योजना कार्यालयले जनाएकाे छ ।

अब आगामी तीन दिनभित्र बाँकी रहेका आवश्यक कार्यहरू, विशेषगरी ग्रावेल बिछ्याउने तथा नाली निर्माण गर्ने कार्यलाई तीव्रताका साथ सम्पन्न गरी सडकलाई विहीबारदेखि थप सहज, सुरक्षित र नियमित रूपमा दुईतर्फी सञ्चालनमा ल्याइने बताइएकाे छ ।

Facebook Comments