अप्रिलबाट गुगल प्लस बन्द हुने
सोसल नेटवर्किङ प्लेटफर्म गुगल प्लस आगामि अप्रिलबाट बन्द हुने भएको छ । गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेपनि अप्रिल २ बाट सेवा बन्द गर्ने जानकारी दिइएको हो । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यस्तो जानकारी गराएको हो ।
जस अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द हुनेछ । गुगल प्लसका झण्डै ५ करोडभन्दा बढी प्रयोगकर्ताका डाटा चोरी भएलगत्तै गुगलले गुगल प्लस बन्द गर्ने निर्णय लिएको थियो ।
आगामि अगष्टसम्ममा बन्द गर्ने कम्पनीको यसअघिको निर्णयलाई सेक्युरिटको कारण देखाउँदै अप्रिलमै कार्यान्वयन गर्न लागिएको हो । गुगल प्लसका एल्बम आर्काइभबाट पनि तपाईंका फोटो तथा भिडियोका साथै यसका सम्पूर्ण पेज डिलिट गरिने बताइएको छ । गुगल फोटोज एपमा ब्याकअप राखेका फोटो वा भिडियो डिलिट नहुने गुगलले स्पष्ट पारेको छ ।

सन् २०११ मा लञ्च गरिएको गुगल प्लसमा प्रयोगकर्ताको संख्या ११ करोड नाघेको थियो । सन् २०१५ मा गुगलले यसलाई नयाँ डिजाइनमा प्रस्तुत गरेको थियो । तर पछिल्लो समयमा यसका प्रयोगकर्तामा वृद्धि नहुने तथा प्रयोगकर्ताका डाटा चोरी भएसँगै गुगलले यो प्लेटफर्म बन्द गर्ने निर्णय लिएको हो ।

