रेन्बो चिल्ड्रेन होम नेपालद्वारा चितवनमा चेपाङ विद्यार्थीलाई सहयोग
रेन्बो चिल्ड्रेन होम नेपालले चितवनमा १०८ चेपाङ परिवारलाई न्यानो कपडा बितरण गरेको छ । चिल्ड्रेन होमले चितवन जिल्लाको माडी नगरपालिकामा पर्ने कुसुम खोलामा बसोबास गर्ने १०८ घरपरिवारलाई न्यानो राहत वितरण तथा शैक्षिक जागरण कार्यक्रम अन्तर्गत न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो ।
उक्त स्थानमा रहेको राष्ट्रिय आधारभूत बिद्यालय, अयोध्यापुरीमा पढ्ने ७० जना चेपाङ बालबालिकाहरुलाइ शैक्षिक सामग्री र न्यानो कपडाहरु बितरण गरिएको रेन्बो चिल्ड्रेन होम नेपालले जानकारी दिएको छ ।
रेन्बो चिल्ड्रेन होम नेपालकी संस्थापक अध्यक्ष समाजसेवी गोमा ढकालले समाजमा अत्यन्त पिछडिएको चेपाङ समुदायलाई सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले उत्पीडित समुदायको जीवनस्तर उकास्ने, रोजगारीको ब्यबस्था तथा आयआर्जनका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा मानब समाजसेवा, माडी चितवनका अध्यक्ष समाजसेवी तथा शिक्षक टिका आचार्यले चेपांग समुदायका अभिभावकलाई आफ्ना बालबालिकाहरुलाई स्कुल पठाउन आग्रह गर्नुभयो । राष्ट्रिय आधारभूत बिद्यालयका शिक्षकहरुले राप्तिखोला बढेको बेला स्कुल पारि बस्ने चेपाङ बालबालिकाहरु खोला तर्न नसक्ने भएकाले विद्यालयमा अनुपस्थित हुने गरेको बताएका थिए । स्थानीय अंबर चेपाङ युवाले सरकार चेपाङ जस्ता गरीबी जनताको बेवास्ता गरेकोमा दुख ब्यक्त गर्नुभयो ।
कार्यक्रमका लागि मणिपाल रोटोर्याक्टले न्यानो कपडा संकलनमा सहयोग गरेको थियो । न्यानो कार्यक्रमलाई गुनिसा पुर्जा, डा गजल लाखे, डा इभा प्रधान, दुर्गा बहादुर पौडेल, रमा ढकाल र दुर्गा के सि लगायतले कपडा प्रदान गरेर सहयोग गरेका थिए । यसअघि पनि सोही स्थान नजिकै रेन्बो चिल्ड्रेन होम नेपाल र लाइन्स क्लब अफ पोखरा लेकसाइडको सहकार्यमा चेपाङ जातीका बालबालिकाहरुलाई न्यानो कपडा तथा शैशिक सामग्री बितरण गरिएको थियो ।

