विपीको नाम मेट्ने सपना नदेख : कांग्रेस प्रवक्ता शर्मा

नेपाली कांग्रेसले राजाले समेत मेट्न नसकेको विपीको नाम मेट्ने सपना नदेख्न सरकारलाई सुझाव दिएको छ । कम्युनिष्ट सरकारले विपीको नाम मेट्न खोजेको काँग्रसको आरोप छ । वीरगञ्जमा निर्माणाधीन विपी उद्यानको नाम परिवर्तन गरेर शहीद उद्यान बनाउने प्रदेश २ सरकारको निर्णयमा गम्भीर आपत्ति जनाउदै नेपाली कांग्रेसले यस्तो आरोप लगाएको हो ।

कांग्रेसले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बर्तमान सरकारले केन्द्रदेखि प्रदेशसम्म कांग्रेसमाथि निरन्तर आक्रमणको प्रयास गरेको बताएको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र सरकारले गोपाल गिरीलाई वीरगञ्ज उपमहानगरको मेयर बनाउँदा पनि नमेटिएको विपीको नाम अहिलेको केपी ओली नेतृत्वको सरकारले मेट्न खोजेको आरोप लगाउनुभयो । साथै उहाँले त्यस्तो राजनीतिक पुवाग्रह नराख्न पनि आग्रह गर्नुभयो ।

काँग्रेसले बिपीका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ सोही प्रयोजनका लागि जग्गा प्रबन्ध र सो जग्गा अन्य नाममा प्रयोग गर्न नमिल्ने प्रतिबन्धात्मक व्यवस्था भएपनि प्रदेश सरकारले दुरुपयोग गरेको दाबी गरेको छ । काँग्रेस प्रवक्ता शर्माले नेपाली राजनैतिक इतिहासका प्रिय राजनीतिज्ञमाथिको निषेधका रुपमा यो घटनालाई लिएको बताउनुभएको छ ।

Facebook Comments