पोखरामा हुने क्यान इन्फोटकको जिल्ला-जिल्लामा प्रचार
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र बनाएको छ । फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको तयारीका क्रममा कास्की सहित प्रदेशका अन्य जिल्लामा पनि प्रचार–प्रसार भइरहेको अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।
प्रचारप्र्रसारकै क्रममा क्यानले स्याङजामा पत्रकार सम्मेलन गरी इन्फोटेकको तयारीबारे जानकारी गराएको छ । उक्त अवसरमा बोल्दै क्यान प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले सूचना तथा प्रविधिको क्षेत्रमा इन्फोटेकले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । अन्य जिल्लामा पनि प्रचारप्रसार गरिने सचिव विकास भुर्तेलले जानकारी दिनुभयो ।
यसैबीच इन्फोटेकमा राखिने स्टलहरु मध्ये ८० प्रतिशत स्टल बुकिङ भइसकेको उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिनुभयो । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याइने बताइएको छ । क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुनेछ । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ ।

