नजिता सहितहात्तीपाइलेको औषधी खान अटेर गरेमा सरकारी सेवा रोकिने
बाँकेको होलियामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गते बुधबारदेखि अभियान शुरु गरिने भएको छ । होलिया स्वास्थ्य चौकीले ९ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । औषधि सेवन गर्न नमानेमा वडाबाट प्रवाह गरिने सेवा ३ महिनाका लागि रोकिने वडा न १ का अध्यक्षको भनाई छ ।
नवौं चरणमा खुवाउन लागिएको औषधि यसपटक स्वास्थ्यकर्मीले नै खुवाउने होलिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम सोमाईले जानकारी दिनुभयो । १५ गते तोकिएका बुथमा औषधि खुवाइनेछ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने सोमाईको भनाई छ ।
उहाँका अनुसा बिगतमा महिला स्वास्थ्य स्वयम् सेविकाबाट औषधि खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउन लागिएको हो ।
यसअघि सोमबार होलिया स्वाथ्य चौकीले गरेको अन्तरक्रियामा सहभागिहरुले गाँउमा अझै चेतना पुग्न नसकेकोले औषधी खुवाउन समस्या उत्पन्न हुन सक्ने बताएका थिए । वडा नं. १ का वडा अध्यक्ष पटेश्वर कुर्मीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
अहेब जयलाल उपाध्यायले बाँकेमा ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधि खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिने बताउनु भयो । सोही अनुरुप होलियामा कर्मचारी खटाउने तयारी पुरा भएको बताउनुभयो । उहाँले होलियका स्वास्थ्यकर्मीलाई सघाउन महिला स्वास्थ्य स्वयम्सेविकालाई खटाईने जानकारी दिनु भयो ।
होलिया स्वास्थ्य चौकीका इन्चार्ज सोमाईले हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिने लगायत समस्या देखिने भई समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने खतरा रहेकोले औषध खान सुझाव दिनुभएको थियो । वडा अध्यक्ष पटेश्वर कुर्मीले स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयहरु विश्वस्त हुने भएकोले यो अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

